काठमाण्डौं, चैत ३०-
अर्थ मन्त्रालयले भारतीय पक्षको आग्रहअनुसार प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट प्रतिव्यक्ति ४ हजार ५ सय मात्र सटही गर्न भारतीय पक्षको आग्रह छ।भारत सरकारले पुराना पाँच सय र हजार दरका नोट प्रतिबन्ध लगाएपछि नेपालीसँग भएको ती नोट सटही हुन सकेको छैन । नेपाल र भारतबीच प्रतिव्यक्ति सटही सुविधा दिने अधिकतम सीमाबारे कुरा नमिल्दा नेपालीसँग भएको तोकिएका दरका सबै भारु सटही हुने वा नहुने अन्योल भएको छ।
अर्थ मन्त्रालयले भारतले दिएको सीमाअनुसार नै नेपालीसँग रहेको पुराना भारु नोट सटहीको व्यवस्था गर्न राष्ट्र बैंकलाई मंगलबार पत्राचार गरेको छ । पहिलो चरणमा भारतको प्रस्तावअनुसार नै सटही सुविधा दिने र पछि थप भारु नोट सटहीका लागि सरकार र राष्ट्र बैंकबाट पहल गर्ने निर्णय भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार भारुसम्म ठूला नोट बोकेर आउजाउ गर्नसक्ने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइएकाले सोही परिमाणमा नोट सटही सुविधा दिन माग गरेको थियो ।
तर, भारतले प्रतिव्यक्ति चार हजार पाँच सय भारुसम्म सटही सुविधा दिन तयार रहेको र १८ चैत ९३१ मार्च० सम्मको समय दिएको थियो । सटही रकमको अधिकतम् सीमामा कुरा नमिलेपछि नेपाली पक्षले कुनै जवाफ दिएको छैन।सरकारले सटही सुविधा स्वीकार गर्न निर्देशन दिए पनि अब नेपालीसँग भएको नोट साटिने सम्भावना भने ज्यादै न्यून रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ‘भारतीयको नियत नै नेपालीसँग भएको पैसा सटही गर्नुहुन्न भन्नेमा देखिन्छ,’ राष्ट्र बैंकका एक उच्च अघिकारीले भने, ‘अब उनीहरूले नोट साटिदिन्छन् भन्ने हामीलाई लाग्दैन।’केन्द्रीय बैंकका डेपुटी गभर्नर तथा नोट सटहीबारे वार्ता गर्न गठित टोलीका संयोजक चिन्तामणि सिवाकोटीले पनि नोट सटही हुने सम्भावना न्यून रहेको बताए ।
‘हामीले कानुनी आधारसहित २५ हजार भारु सटहीको प्रस्ताव गरेको हो, त्यसमा उनीहरूले लामो समयसम्म चासो नदिएर अन्तिममा ४५ सय भारुको प्रस्ताव गरे,’ उनले भने, ‘त्यतिवेला पनि चार दिनको समय दिएर निर्णय लिन भनिएकाले अब नोट सटही हुन्छ भन्नेमा धेरै आशावादी हुने ठाउँ छैन ।’भारतीय पक्षले ४५ सय भारुसम्म सटही सुविधा दिनेबारेमा पनि लिखित प्रतिबद्धता दिन अस्वीकार गरेको राष्ट्र बैंक स्रोतले बताएको छ । ‘दुई साताअघि नेपाल आएको भारतीय टोलीले मौखिक आग्रहमा ४५ सयसम्म भारु साटही सुविधा दिन तयार भएको बताएको थियो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘तर, लिखित प्रतिबद्धता वा सम्झौता गर्न उनीहरूले त्यसवेला पनि अस्वीकार गरेका थिए।
’२५ हजार भारुसम्म सटही गर्नुपर्ने कानुनी जटिलताको अघि ४५ सय रुपैयाँको प्रस्ताव गरेको भारतीय पक्षले लिखित सम्झौता नगर्ने स्पष्ट पारेको ती अधिकारीले बताए । उनले भने, ‘हामी लेखेर दिन सक्दैनौँ, तपाईं ४५ सयसम्म साट्न राजी हो भने खबर गर्नुस् भनेका थिए।’भारतीय पक्षले सर्वसाधारणसँग प्रतिव्यक्ति ४५ सय भारुका दरले बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकलाई भनेको थियो । त्यसरी बैंकमा जम्मा भएको पैसा सटही गरिदिने उनीहरूको भनाइ थियो ।
‘उनीहरूले असल नियत राखेका थिए भने त्यस्तो हलो अड्काउने कुरा गर्ने नै थिएनन्,’ राष्ट्र बैंकका अर्का एक अधिकारीले भने, ‘अब उनीहरूले दिएको समयसीमासमेत सकिइसकेपछि यो कुरा अघि बढाएर हामीले राहत पाउने सम्भावना ज्यादै न्यून छ।’राष्ट्र बैंकले भारतीय पक्षको नियत बुझेको र कानुनले खुला गरेको व्यवस्थालाई बन्देज गर्नेगरी निर्देशन जारी गर्दा असजिलो पर्ने देखेपछि सरकारको मुख ताकेर बसेको थियो । सरकारले अहिले सटही गर्न निर्देशन दिएपछि अब आफूहरू सोही निर्देशनबमोजिम अघि बढ्ने डेपुटी गभर्नर सिवाकोटीले बताएका छन्। नयाँ पत्रिकामा खबर छ।