चितवन र मध्यपश्चिमका जिल्लाहरू संवेदनशील

काठमाडौं, ३० वैशाख –

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा चितवन र ६ नम्बर प्रदेशका जिल्लाहरू सुरक्षाका दृष्टिकोणले बढी संवेदनशील सूचीमा परेका छन् । गृह मन्त्रालयले सोहीअनुसार ती जिल्लामा सुरक्षा रणनीति बनाई थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

चितवनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधि धेरै भएकाले संवेदनशीलको सूचीमा परेको हो ।

सुरक्षा मूल्यांकनकै आधारमा चितवनमा प्रहरीले मेयरका उम्मेदवारलाई व्यक्तिगत सुरक्षागार्डसमेत दिएको छ । चितवनमा नेकपाको संगठन भएकाले हिंसात्मक घटना गर्न सक्ने आ“कलन गरिएको छ ।

त्यस्तै, ६ नम्बर प्रदेशका मध्यपश्चिमका रुकुम, डोल्पा, हुम्ला, कालिकोट, दैलेख, सुर्खेत, जुम्ला, मुगु, जाजरकोट, सल्यान जिल्लालाई प्रहरीले संवेदनशीलमा राखिएको छ ।

विप्लवको गतिविधि यी जिल्लामा रहेकाले चुनावविरोधी घटना हुनसक्ने गृह मन्त्रालयको विश्लेषण छ । निर्वाचनमा सहरी क्षेत्रभन्दा दुर्गम पहाडी गाउँहरूमा धेरै चुनौती रहेको प्रहरीको विश्लेषण छ ।

सडक बाटो नपुगेका र ग्रामीण क्षेत्रहरूका मतदान केन्द्रको सुरक्षामा विशेष सतर्कता अपनाइएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

सोहीअनुसार ग्रामीण क्षेत्रका धेरै मतदान केन्द्रमा इन्स्पेक्टरकै कमान्डमा प्रहरी खटाइएको छ । आजको नयाँपत्रिकामा खबर छ ।