डोल्पाका दुई गाउँपालिकाको प्रमुखमा माओवादी विजयी

डोल्पा,जेठ,२-
माओवादी केन्द्रले डोल्पाका दुई गाउँपालिका जितेको छ । मुड्केचुला र जगदुल्ला गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी भएका हुन् ।

मुड्केचुलाको प्रमुखमा माओवादीका दत्तबहादुर शाही ९३३ मत ल्याएर विजयी भएका छन् । उनले एमालेका उम्मेदवार लंकबहादुर रोकायभन्दा २ मतमात्रै बढी ल्याएर विजयी भए । एमालेका रोकायको पक्षमा ९३१ मत परेको छ ।

मुड्केचुलाको उपप्रमुख पद भने एमालेले जितेको छ । एमालेकी सविना कुमारी रोकाय ९५९ मत पाएर उपप्रमुखमा विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी हिमाली घर्तीले ८३५ मत पाएकी छन् ।

यसैगरी जगदुल्ला गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा माओवादी उम्मेदवार विजयी भएका छन् । जगदुल्लामा माओवादीका नरसिंह रोकाय ५५६ मतसहित विजयी भए । एमालेका दलबहादुर महतराले ४३४ मत पाएका छन् ।

उपप्रमुख पदमा माओवादीकी अमृता लामा ५५३ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी बुद्धकला बोहोराले ४३१ मत पाएकी छन् ।

माओवादीले पहिलो चरणको स्थानीय तह निर्वाचनमा जुम्लाबाट जितको खाता खोलेको छ । जुम्लाको गुठिचौर गाउँपालिकाको प्रमुखमा माओवादीका हरिबहादुर भण्डारी विजयी भएका हुन् ।