काँग्रेसको कार्यसम्पादन समिति बैठक जारी

प्रदेश नं एक र सातका उम्मेदवार आजै टुङ्याउने

काठमाडौं,जेठ, १२-

नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि काँग्रेसको नेतृत्वमा सरकार गठनका विषयमा छलफल भइरहेको छ । सरकार गठनका समयमा माओवादी केन्द्र र काँग्रेसबीच भएको सहमति अनुरुप अबको सरकारको नेतृत्व काँग्र्रेसले गर्ने भएकाले काँग्रेस अहिले सरकार गठनको कसरतमा जुटेको हो ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समयमा सरकार गठनको प्रक्रिया पुरा गर्ने विषयमा छलफल केन्द्रीत छ । बैठकमा काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने बारेमा सहमति जुटाइने बुझीएको छ ।

बैठकमा काँग्रेसको नेतृत्वमा हुने सरकारमा कस्कस्लाई सहभागि गराउने भन्नेमा पनि बैठकले धारणा तय गर्ने छ ।बैठकमा काँग्रेसको नेतृत्वमा बन्ने सरकारलाई समर्थन तथा सहयोग गर्न संसदमा रहेका सबै दललाई पत्राचार गर्ने, संविधान संशोधन, दोस्रो चरणको निर्वाचनमा पार्टीको स्थान लगायतका बारेमा पनि छलफल हुने छ ।

काँग्रेसले प्रदेश नं एक र सातका उम्मेदवार आज टुङ्याउने
नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ र ७ का उम्मेदवारको टुङ्गो आज लगाउने भएको छ । प्रदेश नं दुई र पाँचका विषयमा छलफल गर्न आज बस्ने पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको बैठकले उम्मेदवारको टुङगो लागाउने काँग्रेसले जनाएको छ ।

बैठक पार्टी कार्यालय सानेपामा दिउँसो बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काँग्रेसले निर्वाचन क्षेत्रीय कार्य समितिलाई क्षेत्र अन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्याउने अधिकार दिएको छ ।

क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्य समितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्य समितिमा आउने व्यवस्था गरेको छ ।केन्द्रीय समितिमा आएका विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ ।नेपालवाणीवाट