काठमाडौं,माघ,२७-
सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गोपालकुमार बस्नेत (झापा), चा“दनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल (स्याङ्जा) लाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा ८६ को उपधार २ ख बमोजिम सरकारले राष्ट्रिय सभामा नियुक्तिका लागि तीन जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सिफारिसमा परेका बस्नेत झापा कांग्रेसका पूर्वसचिव हुन्। कांग्रेस विभाजित हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेस झापाका जिल्ला सभापति थिए ।
यस्तै, जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोषकी दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन् । जोशीसँग पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेको पनि अनुभव छ । राष्ट्रियसभा सदस्यका लागि सिफारिस पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन् । आजको अन्नपूर्णमा खबर छ ।