दाङ देउखुरीको बगरमा हुर्किदै वन, समुदायमा आयआर्जन

नरेश खड्का,

दाङ, जेठ ,२९ –

देउखुरी गढवास्थित कक्रहवा खोलाको बगरमा अहिले हरियाली छ । खोलाको करिव ७८ हेक्टर क्षेत्रफलमा बगर अहिले सामुदायीक वनको रुपमा परिणत भएको छ । कक्रहवा खोलाले काटेर वर्षौंदेखि बगरका रुपमा रहेको ७८ हेक्टर जमिनमा अहिले रहर लाग्दा बिरुवाहरु हुर्किएर रुखमा परिणत भएका छन्, भने वन्यजन्तुको आश्रय स्थल बन्न पुगेको छ ।

तराई भुपरिधी कार्यक्रम (ताल) र डब्लुडब्लुएफ नेपालको वन कार्यक्रमको सहयोगमा वन तथा वातावरण संरक्षण समन्वय समितिले बगरलाई संरक्षण गरेर सामुदायीक वनका रुपमा विकास गर्न सक्षम भएको छ ।

गढवाको शन्तिपुरदेखि सुनपुरुवासम्म फैलिएको जमिनमा अहिले ज्योति सामुदायीक वन र चन्दनपुर सामुदायीक वनका रुपमा विकास भएको वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तले जानकारी दिनुभयो ।

‘आज भन्दा १० वर्षसम्म यो पुरै कक्रहवा खोलाले काटेर बनाएको उजाड बगर थियो’, अध्यक्ष पन्तले हरियाली वनलाई देखाउँदै भन्नुभयो, ‘तर अहिले वन संरक्षणको कार्यक्रमपछि यो हरियो जंगल बनेको छ ।

तत्कालिन सरकारी कार्यालयका प्रमुखहरुलाई बगरलाई जंगल बनाउने कार्यक्रमको बारेमा आफूले जानकारी दिँदा नपत्याएको अध्यक्ष पन्त बताउनुहुन्छ । तर, अहिले जंगल मात्र हैन जंगलमा बधेललगायतका विभिन्न वन्यजन्तुहरुको आवागमन बढ्न थालेपछि सबैलाई आश्चर्य समेत लाग्ने गरेको छ ।

सो वन क्षेत्रको विकासका लागि मात्रै समितिले १२ लाख रुपैया लगानी गरेको छ, भने समन्वय समितिले त्यस क्षेत्रको वन तथा वातावरण संरक्षणका लागि अहिलेसम्म १ करोड भन्दा बढि रकम खर्च गरिसकेको छ ।

वन तथा वातावरण संरक्षणका लागि भौतिक पुर्वाधारहरुको निर्माण, चेतना अभिबृद्धि सम्बन्धी कार्यक्रमका लागि अहिलेसम्म १ करोड बढि खर्च भएको अध्यक्ष पन्तले जानकारी दिनुभयो । समितिले आफ्ना कार्यक्रमहरु देउखुरीका साविक पाँच गाविसहरुमा सञ्चालन गरेको छ ।

गढवा, गोवरडिहा, गंगापरस्पुर, बेला र राजपुरमा समितिले वन तथा वातारणका लागि पोखरी निर्माण, चेक ड्याम निर्माण, सिमसार क्षेत्रको पहिचान तथा संरक्षणका लागि काम गर्दै आएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयले गरेको अनुगमनको क्रममा नदी तटिय वनलाई व्यवस्थापन गर्दै, खाली जमिनमा बृक्षरोपण, पोखरी संरक्षणलगाएतका कामहरु भैरहेको जानकारी दिईएको हो । चुरे क्षेत्रको संरक्षणका लागि समितिले २०६५ सालदेखि काम गर्दै आइरहेको अध्यक्ष पन्तले बताउनुभयो ।

त्यस्तै समितिले बायो ग्यास र आयआर्जनतर्फ पनि कार्यक्रमहरु सञ्चालन गरेको छ । गढवाको घोराहा र मानपुरलाई नमुना गाउँ बनाई सकेको समितिले थप चारवटा गाउँलाई पनि नमुना गाउँका रुपमा विकास गर्न खोजिरहेको छ ।

१८ सय भन्दा बढि बायोग्यास निर्माण गरेको समितिले यो परियोजनामा मात्र ४५ लाख रुपैया बढि लगानी गरेको छ । यस्तै आयआर्जनतर्फ समन्वय समितिले समुदायमा करिव ४० लाख रुपैया लगानी गरेको छ ।

२ सय ९८ जना जना सदस्यहरुको जीवनस्तर विकासका लागि ३९ लाख ९९ हजार रुपैया लगानी गरेको समितिको कार्यालयले बताएको छ । देउखुरी क्षेत्रमा रहेका ९३ वटा सामुदायीक वनहरुमध्ये ६७ वटा वनहरु समन्वय समितिमा रहेका छन् ।

जिल्ला समन्वय समितिको कार्यालयका योजना अधिकृत बासुदेव आचार्य, पर्यटन शाखा प्रमुख डा. गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका प्रतिनिधिलगायतको टोलीले अनुगमन गरेको हो ।

अनुगमन टोलीले दक्षिण देउखुरी अधिकार मञ्चले गरेका कार्यक्रमको बारेमा पनि अनुगमन गरिएको छ । अति बिपन्न समुदायहरुका लागि जीविकोपार्जन कार्यक्रमअन्तर्गत ४८ वटा समूह निर्माण गरेर लगानी गरेको छ ।

अधिकार मञ्चले देउखुरीका गढवा, गगापरस्पुर, बेला, राजपुर र गोबरडिहामा समूहहरु निर्माण गरेर जीविकोपार्जनका कार्यक्रमहरु समुदायलाई सहयोग गरेको छ ।

त्यसअन्तर्गत पशुपालन, खुद्रा पसल, तरकारी खेतीलगायतका कार्यक्रमहरु रहेको अधिकार मञ्चका अध्यक्ष देवराज कुँवरले जानकारी दिनुभयो ।