छिमेकी वाटै हत्या भएको खुलासा

इन्द्र कार्की
महेन्द्रनगर, भाद्र ,११ चार दिन अघि महेन्द्रनगरमा हत्या गरिएका सशस्त्र प्रहरी वल भन्सार गुल्म गड्डाचौकीका सशस्त्र प्रहरी जवान नरेन्द्र कुवँरको हत्या कुवँरका छिमेकी कैलाली वनभेडा स्थित सशस्त्र प्रहरीको बढीमालिका गण मा कार्यरत सशस्त्र प्रहरी भान वहादुर विष्टले गरेको खुलेको हो । हत्या पछि प्रहरी हिरासतमा राखिएका सशस्त्र प्रहरी भान वहादुर विष्टले हत्या स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेठीले विष्टको बयानका आधारमा प्रहरी उनले नै हत्या गरेको निष्कर्षमा पुगेको बताए । “उनले नै हत्या गरेको निष्कर्षमा पुग्यौ” उपरीक्षक सेठीले भने “अब किन कसरी हत्या गयो भन्ने कुरा पनि खुल्छ ।” उनले हत्या गरिएका कुवँर र विष्ट दुवैले मादक पदार्थ सेवन गरेको जानकारी दिए । प्रहरीका अनुसार पोलियोग्राफ जाँचमा विष्टले झुठो वोलेको देखाएको थियो । प्रहरीले कुवँरको हत्यापछि महेन्द्रनगर चमनचोकको संगम होटलका सञ्चालक सहित २० जनालाई नियन्त्रणमा लिएको छ । त्यस मध्ये सञ्चालक तरुण अवस्थी सहित ६ जना प्रहरी हिरासतमा रहेका छन् । बुधवार राती हत्या गरिएका कुवँरको शव भीमदत्तनगरपालिका ०६ ऐठपुर स्थित नहरको किनारमा राखिएको ढुङ्गाको थुप्रोमा भेटिएको थियो । प्रहरी अनुसार संगम होटल वाट बाहिर निस्के पछि नहर किनारमा कुवँरको टाउकोमा ढुङ्गाले हानेर हत्या गरिएको हो । स्रोतका अनुसार होटल वाट निस्के पछि मोटरसाइकलमा नहरसम्म गएका दुवै जना ढुङ्गामा पल्टिएका थिए । त्यहि वेला विष्टले कुवँरको टाउको मा ढुङ्गा प्रहार गरेको स्वीकार गरेका छन् । “नहर सम्म पुगेपछि कुवँर सुते त्यसपछि विष्टले ढुङ्गाले टाउकोमा प्रहार गरेको पाइएको छ” प्रहरी स्रोतले भन्यो । होटलमा मदिरा सेवनका क्रममा कुवँर र बिष्टबीच युवतीका विषयलाई लिएर विवाद भएको पाइएको छ । युवतीहरु पनि प्रहरी हिरासतमा छन् । युवती सितको विवादमा रिसले कुवँरको टाउकोमा ढुङ्गा प्रहार गरेको हुन सक्ने आशंका गरिएको छ । विष्ट विहान होटलमा सुतेको अवस्थामा भेटिएका थिए । कुवँरको मोवाइल हाल सम्म नभेटिएको, मोटरसाइकल शव नजिक सडकमा र दुई तोलाको सुनको सिक्री विष्टको घरमा भेटिएको प्रहरीले जनाएको छ । सेनाका भगौडा विष्ट माओवादी हुदै सशस्त्र प्रहरी भएको वताइन्छ ।