उम्मेदवारका पर्चा र झण्डामाथि अपशब्द लेखिएकोप्रति गठबन्धनको आपत्ती

सिर्जना बर्देवा/
ओखलढुंगा,कार्तिक ३०-

ओखलढुंगाको सदरमुकाममा टासिएका प्रचार सामग्रीहरुमाथि केरमेट गरिएको, अश्लिल भाषामा अपशब्द लेखिएको विषयमा वाम गठबन्धनले सरकारको ध्यानाकर्षण गराएको छ । सदरमुकाम क्षेत्रमा टाँसिएका उम्मेदवारका पर्चा र फ्लेक्समाथि गाली गलौज गरि लेखिएको, तस्बीर विकृत गराएको पाइएपछि सुरक्षा निकायको ध्यानाकर्षण गराइएको गठबन्धनका प्रचार संयोजक मोहन कुमार श्रेष्ठले बताउनुभयो ।

प्रचार सामग्रीमा केरमेट गर्ने, उम्मेदवारको फोटो विकृत बनाउने, अश्लिल भाषा लेख्ने गरेको देखिएकाले यसबारेमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । पर्चा सामग्री विकृत गराइएपछि गठबन्धन र काँग्रेसका बीचमा आरोप प्रत्यारोप चलेको छ ।

चुनावमा पराजित हुने अवस्था आएकाले काँग्रेसका कार्यकर्ताले गाली गलौज लेखेको आरोप लगाएको छ भने काँग्रेसले आफ्ना पर्चा च्यातेको आरोप लगाउँदै आएको छ । स्थानीय प्रशासनले दलहरुबीचको विवादले झडप निम्तन सक्ने भएकाले सर्तकता अपनाइ प्रचारलाई संयमित हुन आग्रह गरेको छ ।