कृषि उत्पादनले बजार नपाए त्यसको व्यवस्थापन गर्ने सुनकोशी गाउँपालिका ओखलढुंगाका प्रमुख अधिकारीको उद्घोष

सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर,१८-
ओखलढुंगाको सुनकोशी गाउँपालिकामा २ दिने किसान लेखपढ शिविर सञ्चालन भइरहेको छ । राष्ट्रिय कृषक समूह महासंघ,नेपाल, जिल्ला कार्य समिति ओखलढुंगाको आयोजनामा शिविर भइरहेकोे हो । शिविरमा सुनकोशी गाउँपालिकाका प्रत्येक वडा महासंघका पदाधिकारीहरु तथा पालिका महासंघका पदाधिकारीहरुको सहभागिता रहेको छ ।

Okhaldhunga district

त्यस्तै शिविरकै अवसरमा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाइ कार्यक्रम एवं पालिका तहका कृषिका सवालमा आधारित रहेर अन्तरक्रिया पनि गरिएको छ । सोही कार्यक्रममा पालिका महासंघका अध्यक्ष नर बहादुर कटवालले गाउँपालिका प्रमुख रुद्र प्रसाद अधिकारीलाई १५ बुँदे ध्यानाकर्षण ज्ञापन पत्र बुझाउनुभएको छ । ज्ञापन पत्र बुझ्दै अधिकारीले ती बुँदाहरुमा प्रतिबद्धता जनाउनुभएको छ ।

सुनकोशी गाउँपालिकाका सम्पूर्ण वडाका कृषिका क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिने बताउँदै उहाँले बजार व्यवस्थापन गर्ने जिम्मा आफ्नो भएको पनि बताउनुभएको छ । कृषकले उत्पादन गरेका सामग्रीले बजार नपाएमा ती उत्पादन गाउँपालिकाको कार्यालयमा ल्याउन आग्रह गर्दै उहाँले ती उत्पादनको लागि बजार व्यवस्थापनको जिम्मा लिनुभएको जिल्ला परियोजना अधिकृत मुना वि.क.ले जानकारी दिनुभएको छ ।

महासंघको संरचना र अभियान बारे जानकारी दिने तथा कृषि र किसानसंग सम्बन्धित नितिगत प्रावधान बारे जानकारी दिने उद्देश्यले लेखपढ शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ । शिविरकै अवसरमा पैरवी योजनाको पुनरावलोकन गरेको र आगामी योजना निर्माण समेत गरेको आयोजकको भनाइ छ ।

त्यसैगरी अहिलेको संरचना अनुसार किसानको बुझाइलाई एकरुपता गरेको जिल्ला परियोजना अधिकृत मुना वि.क.ले जानकारी दिनुभएको छ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालका केन्द्रीय महासचिव नवराज बस्नेतले शिविरमा सहजीकरण गरिरहनुभएको छ ।