भम्केनीमा नेपाल आमाको मुर्ति निमार्ण हुने

इन्द्र कार्की

/महेन्द्रनगर ,माघ,२१      कञ्चनपुर जिल्लाको भिमदत्तनगर पालिका वडा नं.०८ तिलाचौर चुरे फेदमा पर्ने प्रसिद्ध धार्मिक स्थल भम्केनीमा नेपाल आमाको मुर्ति निमार्ण हुने भएको छ । नेपालका प्रथम जगतगरु बालसन्त मोहनशरण देवाचार्यले उक्त मुर्ति निमार्णका लागि अभियान सञ्चालन गरेका छन् । मुर्ति निमार्णका लागि आर्थिक र भौतिक समाग्री संकलनका लागि जगत गुरुले २०७२ साल बैशाख ५ गते भम्केनी देखि महाकाली मेची पैदल यात्रा सुरु गरेका थिए । जगत गुरुले उक्त पैदल यात्राका दौरान नेपालका ७७ वटै जिल्ला भ्रमण गरि करिव १ करोड ८४ लाख ७२ हजार ४ रुपैया र तामा ,अष्टधातु संकलन गरेका छन् । मुर्ति निमार्णका लागि करिव १० करोड खर्च हुने अनुमान गरिएको छ । ३ रोपनी क्षेत्रफलमा वनाइने मुर्ति मा २० देखि २२ टन तामा प्रयोग हुने पुरातात्विक विभागका इन्जिनियर नारायण वोहराले जानकारी दिएका छन् ।

    मुर्तिको दायाँ वायाँ गाई र वाघको मुर्ति,नेपालको नक्सा,नेपालका राष्ट्रिय प्रतिक चिन्ह र नेपालको सवै तीर्थहरुको प्रतिनिधित्व हुने संग्रहालय निमार्ण गरिने छ । मुर्ति निमार्ण क्षेत्रफल भित्र सुदूर पश्चिमका ९ वटै जिल्लाका देविदेवताको प्रतिनिधित्व हुने मुर्ति समेत निमार्ण गरिने छ । सवै नेपालीलाई एकताको सुत्रका बाध्नका लागि नेपाल आमाको मुर्ति निमार्ण गरिने लागिएको र यसमा नेपालको अपनत्व भएको जगत गुरुले वताए । पुर्वमा चतराधाम र पश्चिममा नेपाल आमाको मुर्ति वनाउने लागेको र यसैवाट सवै नेपालीलाई जोड्ने जगत गुरुले वताए । पश्चिम नेपालमा देखिएको गाईको अवस्थालाई देखेर निकै दुःखि भएको समेत जगत गुरुले वताए । जगत गुरुका प्रवक्ता विक्रम धामीले जगत गुरुको महाकाली मेची दुई वर्षको पैदल यात्रा शुक्रवार औपचारिक रुपमा समापन भएको र यात्रा निकै फलदायी भएको जानकारी दिए ।

   आवश्यक रकम जुटाउनका लागि भम्केनी धाम मा माघ २२ गते (भोलि) देखि जगत गुरुको पहलमा महायज्ञको आयोजना गरिन लागिएको छ । महाकाली शारदापीठ जगदगुरु आश्रम भम्केनी धामको आयोजनामा माघ २२ गते देखि हुन लागेको महायज्ञको माण्डप,यज्ञस्थल निमार्ण,स्वागत गेट, भक्तजनहरुको वस्ने व्यवस्था लगायतका काम अन्तिम चरणमा पुगेको महायज्ञ प्रचार प्रसार विभाग संयोजक इन्द्र सिंह खत्रीले वताए । भम्केनी धाम लाई धार्मिक पर्यटकिय धामको रुपमा विकास गर्न महायज्ञ आयोजना गरिएको खत्रीले वताए । महायज्ञको पुर्व अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । फाल्गुन ३ गते सम्म सञ्चालन हुने महायज्ञमा सहभागिताको लागि सवै व्यक्तित्व तथा भक्तजनहरुलाई आमन्त्रण गरिएको छ ।

      पौराणिक किवंदन्ति अनुसार परापुर्वकालिन समयमा यहाँ भकभक गरेर पानी निस्कन्थ्यो यसै वाट यस ठाउँको नाम भम्केनी रहन गएको वताइन्छ । भम्केनीमा ६ वटा कुण्ड समेत रहेका छन् । भारत उत्तराखण्डमा पर्ने को प्रसिद्ध पुर्णागिरी मेलाका धर्मालम्बीहरुलाई ब्रह्मदेव,भम्केनी धाम, बिष्णु धाम हुदै कैलालीको गोदावरी सम्म ल्याउन जैविक मार्गको लागि समेत पहल भईरहेको वताइन्छ । भम्केनीलाई धामकै रुपमा अगाडी वढाउन यस क्षेत्रमा आवश्यक संरचनाहरु निमार्ण भईरहेका छन् । सदरमुकाम महेन्द्रनगर देखि भम्केनी धाम सम्मको लागि सडक स्तरोन्नती , आश्रम निमार्ण, पुजा गर्ने कुण्ड र सात नम्वर प्रदेशका सवै जिल्लाहरुको प्रतिनिधित्व हुने गरि एक एक मुख्य कुण्ड निमार्ण भईरहेका छन् ।

      पुरातात्विक विभाग वाट समेत भम्केनी धामलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकसित गर्नको लागि योजना अधि सारिएको छ । भम्केनी धामलाई पर्यटकिय धार्मिक क्षेत्रको रुपमा विकास गर्न सके भीमदत्तनगर पालिकामा पर्यटकहरु भियाउन सकिने र विभिन्न रोजगारीका अवसर सिर्जना भई स्थानियको आर्थिक जीवनस्तर उकासिने धार्मिक तथा समाजिक क्षेत्रका व्यक्तित्वहरु वताउछन् ।