सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं,फागुन,२५-

सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । संघीय संसदको सभामुखका लागी भोलि हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ । सचिवालयले संघीय संसदका महासचिवसमक्ष उम्मेदवारी दिने व्यवस्था मिलाएको छ ।

उम्मेदवारी दर्ता पछि सचिवालयले आजै दिउँसो १: ३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने मतदान भोलि १ बजे हुने जनाएको छ ।

सभामुखको उम्मेदवारी दर्ताको समय नजिकिए पनि दलहरुले अझै आफ्ना उम्मेदवार टुंग्याएका छैनन् । वाम गठबन्धनको तर्फबाट माओवादीका कृष्णबहादुर महराको चर्चा चले पनि औपचारिक निर्णय भइसकेको छैन । एमाले–माओवादीका नेताहरुले सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल चलिरहेको जनाएका छन् ।

त्यसैगरी, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सभामुख उम्मेदवारबारे अहिलेसम्म कुनै निर्णय लिएको छ । कांग्रेस नेताहरुले यसबारे छलफल भइरहेको जनाएका छन् ।

प्रतिनिधिसभाको कुल २७५ सदस्यमध्ये सभामुख निर्वाचित हुनका लागि कम्तीमा १३८ मत आवश्यक हुन्छ । संसदमा एमाले–माओवादीको बहुमत रहेकाले वाम गठबन्धनकै उम्मेदवार निर्वाचित हुने लगभग निश्चित रहेको छ ।