आज नेपालले हङकङसँग खेल्ने

काठमाडौं, फागुन,२८-

 

जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।समूहमा लगातार तीन खेल हारेको नेपालले सुपर सिक्समा पुग्ने सम्भावना बाँकी राख्न आज हङकङलाई फराकिलो अन्तरले हराउनुपर्छ ।

तर झिनो अन्तरमै हङकङलाई हराएको खण्डमा पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि समूह ए को खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।

एसोसिएट राष्ट्रहरु स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बी बाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एक दिवसीय मान्यता पाउने बाटो सकिनेछ ।

यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ । सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि प्ले अफ हुनेछ ।

उक्त प्ले अफ्मा सातौं स्थान हात पार्ने टोलीले एक दिवसीय मान्यता पाउनेछ ।यो बाटोबाट नेपाललाई एक दिवसीय मान्यता पाउन युएई र हङकङमध्ये कम्तिमा एक टोली सुपर सिक्समा पुग्नुहुँदैन ।

जिम्बाबेमा जारी एक दिवसीय विश्वकप छनौटमा नेपाल पहिलो जितको खोजीमा छ ।सुरुवाती तीन खेलमा जिम्बाबे, स्कटल्याण्ड र अफ्गानिस्तानसँग हारेको नेपाल आज पहिलो जितको खोजीमा छ ।