आजबाट नयाँ वर्ष २०७५ साल सुरु

विभिन्न स्थानमा भब्य मेला

 

काठमाडौं, बैशाख,१-

नयाँ वर्ष २०७५ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल आजबाट शुभारम्भ भएको हो ।

आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ ।

विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ ।

यो पात्रो नेपाल, भारत, श्रीलंका र वंगलादेशमा पनि प्रयोगमा रहेको छ । वंगलादेशमा त बैशाख १ लाई नै नयाँ बर्षको रुपमा मनाउने गरिन्छ ।

सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता÷असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने गर्दछन् ।

यसैबीच :नयाँ वर्षको पहिलो दिन विभिन्न ठाउँमा मेला लाग्ने गर्छ ।काठमाडौंको बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा पर्ने वाग्द्वार, टोखा चण्डेश्वरी नगरपालिकाको सपनतीर्थ र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा विशेष मेला लाग्छ ।

काठमाडौंको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा स्नान गरेमा कुष्ठरोग एवम् लुलो लङ्गडोपना हटी पुनः शारीरिक तन्दुरुस्तता प्राप्त हुने जनविश्वास छ । भक्तपुरमा बिस्केट जात्राको रौनकता वैशाख १ गतेकै दिन बढ्ने गर्दछ ।

यसैगरी : बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगरले नयाँ वर्ष २०७५ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।