सेन्ट्थोमसलाई हराउँदै आदर्श मावि ७ विकेटले विजयी

नेपालगन्ज , माघ, २७-
बांके जिल्ला क्रिकेट संघको आयोजनामा नेपालगन्जमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय टी २० क्रिकेट प्रतियोगितामा शनिवार भएको वर्षाका कारण रद्द भएको खेल आईतवार सम्पन्न भएको छ । जस्मा आदर्श मा.वि ७ विकेटले विजय भएको छ ।

क्वाटर फाइनल समिकरणको पहिलो खेल अन्तर्गत भएको खेलमा सेन्ट थोमस मा.विले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरको खेलमा सेन्ट थोमसको त्यति राम्रो सुरुवात भएन । ११.२ ओभरमा आफनो सम्पुर्ण विकेट गुमाउदै सेन्ट थोमस मा.विले ६१ रन बनाएको थियो ।

जस्का लागि दिपक बि.सिले मात्र २७ बल खेलेर ३८ रन जोडे भने अन्य ब्याट्स म्यानहरुले दोहोरो अंक जोड्न सकेनन् । आदर्श मा.विका लागि युवराज शर्माले ४ विकेट लिए भने सबिन शाक्यको नाममा २ विकेट रहयो । ६२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको आदर्श मा.विले ६.४ ओभरमा लक्ष्य भेटायो ।

आफनो ३ विकेट गुमाउदै आदर्शका लागि कप्तान सिद्धार्थ सेन्चुरीले २३ रन तथा युवराज शर्माले १४ रन बनाए । सेन्ट थोमसका लागि यस अघिको नक आउट चरणको खेलमा प्रतियोगितामा अहिले सम्म एक मात्र ह्याट्रिक लिएका सुराज दासले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच आदर्श मा.विका युवराज शर्मा घोषित भए।

म्यान अफ द म्याचलाई नेपालगन्ज मल्टिपल क्याम्पस(एन.एम.सी)का सहायक क्याम्पस प्रमुख थमन के.सीले अवार्ड प्रदान गर्नु भएको थियो । सोमवार हुने खेल आईडियल पब्लिक मा.वि र युनाईटेड एकेडेमी बीच हुने प्रतियोगिताका संयोजक मेराज अन्सारीले बताउनु भयो।