खजुरा मेयर रनिङ खेलकूद प्रतियोगितामा विभिन्न खेल सकियो

नेपालगन्ज, फागुन,६-
बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा संचालित प्रथम मेयर रनिङ खेलकूद प्रतियोगिता अन्तरगत आज सोमवार विभिन्न खेलको अन्तिम नतिजा आएको
छ ।

प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता सचिवालय प्रमुख यमनारायण महतोका अनुसार छात्रछात्रा २०० मिटर, १५ सय मिटर दौड, रिले दौड, लङजम्प, ज्यापलिङ थ्रो लगायतका खेल सकिएका छन् । त्यस्तै भलिवल, कबड्डीको मंगलबार सेमिफाइनल र फाइनल खेल संचालन हुनेछ ।

प्रावि, निमावि, मावि तर्फ अन्तिम नतिजा आएका खेलाडीलाई पुरस्कार वितरण समेत गर्दै आएको खजुरा गाउँपालिका प्रमुख तथा प्रथम मेयर रनिङ खेलकूद प्रतियोगिताका संयोजक किस्मतकुमार कक्षपतिले बताए । उनका अनुसार मंगलवार प्रतियोगिता समापन गरिनेछ ।

प्रावितर्फ ६, निमावि १७ र मावितर्फ ३१ खेलमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ५ सय विद्यार्थीले सहभागिता जनाएका छन् । कक्षा ९–१२ मावि तह, कक्षा ६–८ निमावि र १–५ आधारभूत तीनै तहलाई प्रतियोगितामा सहभागिता गराई प्रतिस्पर्धा गराइएको खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले बताइन ।

उनका अनुसार प्रतियोगितामा मावि तर्फ प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २० हजार, द्वितियलाई १० हजार र तृतीयलाई ७ हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ भने कक्षा १ देखि ८ सम्मको विद्यालयका लागि क्रमश ः १० हजार, ७ हजार र ५ हजार पुरस्कार राशी राखिएको छ ।