शिक्षक संघको प्रतिनिधिसभाको सम्पूर्ण तयारी पुरा, बुधवार कांग्रेस सभापति देउवाले उद्घाटन गर्ने

काठमाडौं,चैत्र,२७-

नेपाल शिक्षक संघको २० औं प्रतिनिधि सभा भोलि देखि शुरु हुने भएको छ । मंगलवार संघले केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतिनिधि सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।बुधबार बिहान ११ बजे नवदूर्गा पार्टी भेन्यु सुकेधारामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभाको उद्घाटन गर्ने संघले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतिनिधि सभामा पहिलो दिन उद्घाटन् र दोस्रो र तेस्रो दिन बन्दसत्र सञ्चालन हुने संघका अध्यक्ष राजेन्द्रराज पौडेलले जानकारी दिए ।उनका अनुसार प्रतिनिधि सभामा देशभरका ६ सय बढी शिक्षक प्रतिनिधिहरुको सहभागिता रहने छ ।

नेपाल शिक्षक संघ २०४७ बैशाख ३० गते स्थापना भएसँगै महाधिवेशनको अर्कोवर्ष प्रतिनिधि सभा आयोजना हुँदै आएको छ । प्रतिनिधि सभाले नवनिर्वाचित कार्यसमितिले एवर्षमा गरेका कामकार्बाहीको मूल्यांकन र आगामी वर्षको कार्यनीति तय गर्ने गर्दै आएको छ ।

बुधवारदेखि शुरु हुने प्रतिनिधि सभामा पनि वर्षभरीको कामको समिक्षा, एकवर्षभित्रका शैक्षिक मुद्दाहरुको छलफल र आगामी संघको दिशाबोध गर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।विगतका प्रतिनिधि सभामा पेशागत आन्दोलन र अधिकारका पक्षमा छलफल हुनेभएपनि यसपटकको सभामा शिक्षकको कर्तव्य र गुणस्तरीय शिक्षाको विकासका बारेमा छलफल र बहस हुने अध्यक्ष पौलेलले बताए ।

१७ थरीका शिक्षक र उनीहरुका विभिन्न आन्दोलन चलिरहेको अवस्थामा संघको प्रतिनिधि सभाले लिने निर्णय महत्वपूर्ण रहने भन्दै संघका अध्यक्ष पौडेलले शिक्षक महासंघ र सरकारबीचको सहमति कार्यान्वयन र संघीय शिक्षा ऐनका विषयमा पनि छलफल हुने जानकारी दिए ।

प्रतिनिधि सभामा यसका अलावा संवैधानिक शिक्षक सेवा आयोग, २० प्रतिशत शिक्षा वजेटको सुनिश्चितता, १७ थरीको शिक्षक अन्त्य, शिक्षा संघ, प्रदेश र स्थानीयतहको साझा सुचीका विषयमा पनि घनीभूत छलफल हुने संघका महासचिव सोमनाथ गिरीले जानकारी दिए ।