रौतहटको सदरमुकाम गौर डुबानमा : १० फिट भन्दा बढी पानी

डुबानमा फसेकाहरुको उद्धारमा समस्या

काठमाण्डौं,असार,२८-

फोटो साभार कान्तीपुरबाट

लगातारको वर्षाले रौतहटको जनजीवन नराम्ररी प्रभावित भएको छ ।भारतसँगको सीमा नजिक रहेको रौतहटको सदरमुकाम गौर बजारमा करिव १५ फिट पानी जमिसकेको छ । सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेपछि उद्धारकर्मी परिचालनमा कठिनाइ भइरहेको छ ।

रौतहटको पूर्वतर्फ भएर बग्ने बागमती नदी र पश्चिम भएर बग्ने लाल बकैया नदीको बाँध फुट्दा सदरमुकाम गौर डुबानमा परेको हो ।

गौरस्थित प्रहरी भन्सार सुरक्षा गार्डको कार्यालयको छानामात्र देखिएको छ भने भुई तल्लाको भाग डुबिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उता, कारागारको पहिलो तला समेत डुबानमा परिसकेको छ ।

फोटो साभार कान्तीपुरबाट

सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण समेत डुबानमा परेको छ । सदरमुकाम गौरबाट अन्य स्थानीय तह जोड्ने सडक अवरुद्ध भएपछि डुबानमा फसेकाहरुको उद्धारमा समस्या भएको हो । 

भारतीय सीमा जोडिएका नाकामा पानीको सतह बढेको कारण त्यहाँ स्थापित प्रहरी चौकी ब्रम्हपुरी बसतपुर, प्रहरी चौकी औरैया, भन्सार सुरक्षा गार्ड प्रहरी कार्यालय सुरक्षित स्थानमा स्थानन्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पानीको सतह बढ्दै जाँदा र डुबानले गर्दा रौतहटमा ४३२ घरभन्दा बढीका २ हजार ५ सय मानिस बिस्थापित भएका छन् । उनीहरुलाई विद्यालय र आफन्तको घरमा शरण दिइएको छ ।

माधव नारायण नगरपालिका– ८ स्थित भोला महतोले संचालन गरेको बागमती कृषि तथा पशु फार्ममा पालिएको ४६ वटा राँगा, भैंसी बागमती नदीले बगाएको छ ।

यस्तै : गौर चन्द्रनिगाहपुर र पूर्वपश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बन्द छ । रौतहटको फतुवा विजयपुर नगरपालिकासँग सम्पर्क विच्छेद भएको छ । सो नगरपालिकाका विभिन्न वडामा एक हजारभन्दा बढी व्यक्ति तत्काल उद्धारको पर्खाइमा छन् । बाढीमा फसेकाहरुको उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको डुंगासहितका केही पौडीबाज जिल्लाका विभिन्न स्थानमा पठाइए पनि पर्याप्त भएको छैन ।

दुर्गा भगवती गाउँपालिकाअन्तर्गत गौर-गंगापिपरा सडक खण्ड बाढीका कारण गएरातिदेखि नै अवरुद्ध छ भने मत्सरी, पचरुखी, सरुअठा, गंगापिपरा, भलोहिया, बडहर्वा लगायतका गाउँहरुमा बाढीको पानीबाट एक सयभन्दा बढी घर डुवानमा परेका छन् ।

परोहा गाउँपालिकाकै बसन्तपटी, इनरवारी, ईशनाथ गाउँपालिकाको बन्जरहा, औरैया, बैरिया, राजपुर, बौधीमाई, गुजरा, माधवनारायण, गढीमाई, वृन्दाबन, विजयपुर, कटहरियासहित गरुडा नगरपालिकाको सबैवडा, चन्द्रपुर नगरपालिकाका केही वडा पनि डुवानमा परेको बताइएको छ ।