आज भाईटिका, शुभसाइत ११:५५ बजे उत्तम

काठमाण्डौं,कार्तीक,१३-

फाईल तस्विर

आज यमपञ्चकको पाँचौ दिन अर्थात भाई टिका ।सबै नेपालीका घर-घरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर हर्षोल्लासरूपमा भाइटीका मनाउँदैछन् ।तिहारको अन्तिम दिन अर्थात भाइटीकालाई समस्त नेपालीले महत्वपूर्ण दिनका रूपमा लिने गर्छन् ।imagesभाइटीकाको साइत खोज्नेहरूका लागि ११ बजेर ५५ मिनेटको समय  उत्तम रहेको भए पनि दिनभर नै भाइटीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निणर्याक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आजका दिन स्वदेश तथा विदेशमा रहेका दाजुभाइहरू दिदीबहिनाका घरमा र दिदीबहिनीहरू दाजुभाइका घरमा जम्मा भई टीका लगाउने गर्दछन् । भाइटीकालाई दिदी भाइ तथा दाजु बहिनीको प्रगाढ सम्बन्धको प्रतिकको रूपमा लिने गरिन्छ । आजका दिन दिदीबहिनीले टीका लगाउनुअघि दाजुभाइको कानमा तेल हालिदिन्छन् र सप्तरङ्गी टीकाको साथै दुबो, मखमली, सयपत्री तथा गोदावारीको माला लगाइदिन्छन् ।

टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई मीठाइ तथा मसला खान दिन्छन् भने दाजुभाइले दिदीबहिनीलाई विभिन्न बस्त्र, आभूषण तथा दक्षिणा दिने गर्छन् । आजका दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ।

भाइटीकाको दिन अर्थात कात्तिक शुक्ल द्वित्तीयामा आफ्नो भाईलाई स्वर्गबाट धर्मराजका यमदूत लिन आएको र यमदूतलाई दिदीले अनेक बहाना बनाई भाईको काल टारेको धार्मीक विश्वास रहेको छ।