सभामुख लगायत सांसदहरुले आजबाट कोरोना खोप लगाउने

फाईल तस्विर !!

काठमाडौं,फागुन,१९-सभामुख अग्नि सापकोटाले कोरोना विरुद्धको खोप लगाउँदै हुनुहुन्छ ।

सापकोटाले बुधबार बिहान १० बजे सिभिल अस्पताल नयाँ बानेश्वरमा पुगेर कोरोना विरुद्धको खोप लगाउने सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

बुधबार र बिहीबार प्रतिनिधिसभाका सांसदहरु, मर्यादापालक, सुरक्षाकर्मी, संसद सचिवालयका कर्मचारीलगायत सम्पूर्णले खोप लगाउने संसद सचिवालयले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई २० गते बिहीबार खोप लगाउने तय भएको छ ।

यस्तै, २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र छुटेकालाई खोप लगाइने संसद सचिवालयले जनाएको छ ।

विघटित प्रतिनिधिसभा पुन:स्थापना भएको सर्वोच्च अदालतले निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २३ गतेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको छ ।

त्यसअघि सबैले कोरोना विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने व्यवस्था सचिवालयले गरेको छ । सो अन्तर्गत बुधबारबाट खोप अभियान सुरु भएको हो ।