युरोकप फुटबलमा इटालीको हावी,स्पेनलाई हराउँदै फाइनलमा प्रवेश

फाईल तस्विर !!

एजेन्सी,असार,२३-युरोकप फुटबलको तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको फाइनलमा प्रवेश गरेको छ ।यस पटक युरोकप फुटबलमा इटाली आफ्नो जितको हाबी कायम नै राखेको छ।

इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो ।अब इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।

वेम्बलीमा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्यो ।

पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले गोल गर्न सकेनन् ।

स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।

Image

पेनाल्टीमा खेल जानु अघि दुबै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने इटालीले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । काउन्टरमा स्पेनिस डिफेन्डरले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिदै उनले उत्कृष्ट गोल गरे ।

तर, खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । फेरान टोरेसको स्थानमा ६२ औं मिनेटमा मैदान छिरेका उनले डानिल ओल्मोको पासमा गोल गरेका थिए ।

यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।  

इटालीले क्वाटरफाइनलमा फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो  ।

स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

Image

Image