६ महीनामा नेपाल विद्युत् प्राधिकरणले कमायो १२ अर्ब नाफा

विद्युत् निर्यात बढ्यो, आयात घट्यो

काठमाडौं,फागुन,८-नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो ६ महीनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ ।

अपरिस्कृत वित्तीय विवरण अनुसार गत आव २०७७/ ७८ मा प्राधिकरणकोको नाफा ६ अर्ब १८ करोड थियो । चालू आवको पहिलो ६ महीनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो सँगै सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ ।

आव २०७२/ ७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा  गिरावट आएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारतर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी, विद्युत् विक्रीमा वद्धि, अन्य आयमा वद्धिका कारण चालू आवको ६ महीनामा प्राधिकरण नाफा आर्जन गर्न सफल भएको बताउनुभयो।

विद्युत् निर्यात बढ्यो, आयात घट्यो

आघिल्लो वर्षहरुको तुलनामा चालू आवको ६ महीनामा नेपालमा खपत भएर बढी रहेको विद्युत् भारतर्फ निर्यात बढेको छ भने अपुग विद्युतको आयातको परिमाण घटेको छ । गत आवमा ३१ करोड ६० लाख रुपैयाँको विद्युत् भारत निर्यात भएकोमा चालू आवको ६ महीनामै ८० करोड ५० लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

ऊर्जाका आधारमा गत आवमा ४ करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महीनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ ।

आव २०७६/ ७७ मा १३ अर्ब ४२ करोड रुपैयाँको विद्युत् आयात भएकोमा गत आवमा बढेर २१ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो । तर, चालू आवको ६ महीनामा २ अर्ब ५८ करोड रुपैयाँको मात्र विद्युत् आयात भएको छ ।

माघ, फागुनमा आयात केही बढ्ने भएतापनि यस वर्ष १० अर्ब रुपैयाँभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए। यसवर्ष अघिल्लो वर्षको तुलनामा करीब २०० मेगावाट विद्युत् माग बढेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करीब ६६० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ ।