एमालेले मधेशका नागरिकमा भ्रम छर्ने प्रयास गरेको प्रचण्डको भनाई

काठमाडौं,बैशाख,२४-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) ले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गर्नुभएको छ ।

चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहाका क्रममा जनकपुुर पुगेका अध्यक्ष प्रचण्डले मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा एमालेकै कारण असफल भएको बताउनुभयो ।

अहिले एमालेले सामन्ती र राजावादी तत्वसँग गठबन्धन गरेको भन्दै प्रचण्डले एमालेले समानुपातिक, समावेशी सिद्धान्त र संघीयता विरोधीसँग गठबन्धन बनाएको टिप्पणी गर्नुभयो ।

उहाँले आगामी निर्वाचन खाली एउटा सामान्य निर्वाचन मात्र नभएकाले जनताले जित्ने कि जनताको बैरीले जित्ने भन्ने लडाईं रहेको बताउनुभो ।

धनुषामा एमालेले आफू पराजित हुने डरले हिन्दू–मुस्लिमबीचको सामाजिक सद्भाव खल्बल्याउन लागेको पनि उहाँको आरोप छ ।