एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गराए: मन्त्री खड्का

काठमाडौं,साउन,१३-सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गत साउन ९ गते नै दिएको बताएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा एसपीपीको विषयमा संसदलाई जानकारी गराउदै परराष्ट्रमन्त्री डा.नारायण खड्काले साउन ९ गते नै अमेरिकी सरकारलाई लिखित जानकारी गराएको बताउनुभयो । उहाँले कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको बताउनुभयो।परराष्ट्र मन्त्री खड्काले २०७९ असार ६ को मन्त्रिपरिषद बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेता पनि आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको स्पष्ट पार्नुभयो ।

उहाँले नेपालको सर्वोच निकाय मन्त्रिपरिषद् गरेको निर्णयका विषयमा सांसदहरुले शंका व्यक्त गर्नु अस्वाभिक भएको टिप्पणी गर्नुभयो।मन्त्री खड्काले एसपीपी अगाडि नबढाउने विषयमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र रहने दाबी गर्नुभयो।उहाँले गठबन्धन सरकार स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सक्षम रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एसपीपीलाई अगाडि नबढाउने मन्त्रीपरिषद्बाट निर्णय भइसकेको परिप्रेक्ष्यमा परराष्ट्र मन्त्रालयले कार्यान्वयन गरको व्यहोरा संसदलाई जानकारी गराउन चाहन्छु।यस सम्बन्धमा सांसदहरुबाट व्यक्त भएका धारणाप्रति आभार व्यक्त गर्न चाहन्छु ।

साउन ९ गते २५ जुलाई २०२२ का दिन कुटनीतिक माध्यमबाट नेपालले एसपीपी अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकार समक्ष पठाएको जानकारी गराउन चाहन्छु। पत्रचारका विषयमा आन्तरिक परामर्स गर्न परेकाले पत्राचार गर्न केही समय लागेको हो।केही मान्य सांसदहरुबाट यो विषयमा संसदमा प्रश्न गर्दै संशय व्यक्त गरेको सुनेको छु ।

तर यसमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र छ । नेपाल सरकार एउटा सार्वभम राष्ट्रको कार्यपालिकाको सर्वोच्च निकायले गरेको निर्णयको विषयमा शंका गर्नु अस्वाभिक नै हुन्छ।विभिन्न निकायहरुबीच छलफल गर्नु परेकाले समय लागेको जानकारी गराउँछु।गठबन्धन सरकार स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सक्षम रहेको छ।’

मन्त्री खड्काले सांसद, सभामुख तथा विभिन्न समितिहरुले समेत जानकारी माग गरेकाले संसदमा जानकारी गराएको बताउनुभयो। उहाँले विभिन्न निकायहरुबीच एसपीपी अगाडि नबढाउने विषषमा छलफल गर्नु परेकाले केही समय लागेको स्वीकार गर्नुभयो।