प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता शुरु

काठमाडौं,असोज,२३-प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता शुरु भएको छ । प्रतिनिधि सभाका १६५ ओटा निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता शुरु भएको हो ।

आगामी मंसिर ४ गते  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ ।

निर्वाचन आयोगका अनुसार देशभर नै राजनीतिक दलमध्ये गठबन्धनका दल, नेकपा (एमाले) तथा अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने शुरु गरेका हुन् ।

मुलुकभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आर्फं उपस्थित हुन नसके प्रतिनिधि वा वारेस मार्फत पनि उम्मेदवारी दिन सकिने बताएका छन् ।

निर्वाचन आयोगका अनुसार असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ र २५ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र असोज २५ गते अन्तिम नामावली प्रकाशन हुनेछ ।

हेर्नुस् निर्वाचन आयोगको कार्यतालिका :

अन्तिम नामावली पनि त्यसै दिन प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिने छ ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । 

दलहरूद्वारा उम्मेदवार चयन
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरूले धमाधम उम्मेदवार चयन गरिरहेका छन् । 

निर्वाचन आयोगले आइतवार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयनपत्र दर्ताको कार्यक्रम तालिका प्रकाशित गरेकाले दलहरू उम्मेदवार चयनमा लागेका हुन् । अधिकांश दलमा उम्मेदवार चयनको क्रममा विवाद देखिएको छ ।

विवादकै कारण सत्ता गठबन्धनमा आबद्ध दलहरू उम्मेदवार चयनमा शनिवार रातिसम्म जुटेका थिए । त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका भीम रावल, घनश्याम भुसालजस्ता नेता उम्मेदवार बन्न नपाएपछि विवाद बढेको छ । सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले अन्तिम समयमा आएर एमालेसँग चुनावी तालमेल गरेको छ । केही स्थानका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी र एमालेबीच पनि तालमेलको सहमति भएको छ । 

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने सहमति गरेका छन् । आयोगले ७७ ओटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ ओटा निर्वाचन अधिकृत कार्यालय स्थापना गरिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।