एसीसी प्रिमियर कपको फाइनलमा नेपाल, उपाधिका लागि यूएईसँग भिड्ने

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

फाईल तस्विर !!

काठमाडौं,बैशाख,१६-नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार टीयु क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको हो।

उपाधिका लागि नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो ।

पहिले ब्याटिङ गरेको युएई ४ बल खेल्न बाँकी छँदा २३६ रनमा अलआउट भयो। २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाउदा खेल वर्षाले रोकिएको थियो।

अब उपाधिका लागि युएई र नेपालबीच आगामी सोमबार कीर्तिपुर मैदानमा खेल हुनेछ। यो खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ। एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।

नेपाली क्रिकेट टिम !! Nepali Cricket
फाईल तस्विर !!

यसैबिच:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । काठमाडौंमा जारी एसीसी प्रिमियम कपको फाइनलमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री दाहालले बधाई दिनुभएको हो ।

‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले ट्विट गर्दै भन्नुभयो, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

कीर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएको तथा खेल नतिजा विहीन हुन पुग्दा नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको थियो ।