वैशाख २३, २०७४ – मनाङको नारफू गाउँपालिका–१ नारगाउँका ४५ वर्षीय मिङ्मा छिरिङ लामाको दिनचर्या गोबर सोहोर्दै र चौपाया चराउँदैमा बित्थ्यो । खेतीकिसानीमै भुलिरहेका उनलाई राजनीतिमा खासै चासो थिएन । स्थानीय तह चुनावको उम्मेदवारी दर्ताका दिन उनलाई गाउँलेबाट ठूलो दबाब आयो, गाउँपालिका प्रमुख बन्न । कुनै पार्टीको सदस्यता नलिएका लामाले फारममा कांग्रेस उल्लेख गर्दै मनोनयन दर्ता गरे । साँझ ५ बज्नै लाग्दा मनोनयन दर्ता गराएका उनी प्रत्यासी कोही नआएपछि स्वतस् नारफू गाउँपालिकाका अध्यक्ष हुन पुगे ।
‘जनताले भने, उम्मेदवारी दिएँ । कसैले विरोध गरेनन्,’ लामाले शुक्रबार टेलिफोनमा भने । उनका सपना र योजना उति ठूला छैनन् । ‘मेरो गाउँ आउन चामेबाट २ दिन लाग्छ, चामेसम्म मोटर चल्छ । गाउँ आउने बाटो ६ महिना खुल्छ, ६ महिना बन्द हुन्छ । त्यो बाटो फराकिलो बनाउँछु ।’ जनताले अकालमै ज्यान गुमाउनुपरेको भन्दै उनले स्वास्थ्य चौकी स्थापना गर्ने बताए ।
५ दाजुभाइमध्ये उनी माहिला हुन् । ‘जनता गाउँमा सिंहदरबार ल्याइदिनुपर्यो भन्दै छन् । के रहेछ, म बुझ्दै छु । मोबाइलको नेटवर्कले काम गर्दैन,’ उनले भने । सुरुमा फू गाउँको गुम्बामा ४ वर्ष लामा विद्या पढेका उनलाई त्यसपछि आफन्तले काठमाडौं लगे ।
काठमाडौंमा चार वर्ष पढेपछि उनी घरायसी कारणले गाउँ नै फर्किए । लामाविद्या पनि धेरै पढ्न नसकेपछि गोठाला बने । याक, चौंरी, भेडा, च्याङ्ग्रा हुँदै घोडासम्म पाले । ‘घोडा पालेपछि गोरा चढ्छन् । पैसा आउँछ,’ उनले भने, ‘हिजोआज इङ्लिस पनि अलिअलि बोल्छु । थ्यांक्यु सर ।’ लामाले गाउँपालिका भवन बनाउने, सेवासुविधा गाउँमा पुर्याउने र यार्चागुम्बु प्रवद्र्धनका कार्यक्रम ल्याउने बताए ।
उनीसँगै नारफू गाउँपालिका–४, फू गाउँका ४२ वर्षीय कोन्जो तेन्जिन लामा निर्विरोध उपप्रमुख बने । नार गाउँबाट उपाध्यक्षमा फुर्पा जोम्पा लामाले उम्मेदवारी दिएकामा उनले फिर्ता लिएपछि कोन्जालोलाई बाटो खुला भएको हो । काठमाडौंमा हस्तकला उद्योग सञ्चालन गर्दै आएका उनी सित्तिमित्ति गाउँ आउँदैनन् । ‘भोट हाल्न आएको थिएँ, गाउँलेले उपाध्यक्ष बस्नुपर्छ भने । त्यसैले बनिदिएँ,’ उनले भने । फू गाउँबाट सहर झरेर सबैभन्दा पहिले बोर्डिङ पढेको व्यक्ति आफू नै भएको कोन्जोको दाबी छ ।
सुरुमा भारतको कालिम्पोङ पढ्न गएका उनले प्रावि काठमाडौंमा पढेर पिपुल्स क्याम्पसबाट आइकम पास गरेको बताए । लामाले अब गाउँमै बस्ने योजना बनाएका छन् । ‘काठमाडौं बसेको ३० वर्ष पुग्यो । बाटाले गर्दा गाउँ आउन समस्या थियो,’ उनले भने, ‘पहिले बाटो सुधार्छु । पानी, बत्ती, मोबाइल फोनको व्यवस्था गर्छु । ठाउँठाउँमा होटल चलाउँछु ।’
साभार ः इकान्तिपुर डटकम