लोकतन्त्र दिवस ११ औँ बर्ष

दाङ,बैशाख,११-
आज लोकतान्त्रिक आन्दोलन सफल भएको दिन आज लोकतन्त्रको सम्झना गरिंदैछ । लोकतन्त्र स्थापना भएको आज एघार वर्ष नाघेको छ तर त्यसका उपलब्धि संस्थागत हुन भने बाँकी रहेको छ

दोस्रो लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ गते आज मुलुकभर विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदैछ । सरकारले औपचारीक कार्यक्रम भने गरेको छैन ।

नेपाली जनताको १९ दिन लामो बलिदानीपूर्ण जनआन्दोलनबाट मुलुकमा लोकतन्त्र स्थापना भएको हो । विसं २०६२÷६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते सम्पन्न भएका कारण आजको दिनलाई लोकतन्त्र दिवसका रुपमा लिइएको छ । सरकारले जेठ १५ गतेलाई गणतन्त्र दिवस मनाउने गरेकाले आज औपचारीक कार्यक्रम नगरेको बताएको छ ।

नेपालमा दश वर्षसम्म सशस्त्र संघर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रुपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रुपमा लिइन्छ ।

निरङ्कुश राजतन्त्रको अन्त्य र स्वतन्त्रता प्राप्तिका लागि नेपाली जनताले सुरु गरेको जनआन्दोलन २०६२÷६३ ले आजकै दिन सफलता प्राप्त गरेको थियो ।

जन आन्दोलनको समयमा २५ जनाको मृत्यु भएको थियो भने करिब २१ हजार घाइते भएका थिए । मुलुक संघिय संरचनामा गएसँगै स्थानिय तहको चुनावमार्फत प्रक्रिया संस्थागत हुने चरणमा रहेको दलहरुले बताएका छन् ।