ओली प्रधानमन्त्री, दाहाल कार्यकारी राष्ट्रपति

भद्र सहमतिः सत्ता र पार्टीको नेतृत्व पालैपालो

काठमाण्डौं,असोज,२२-
दशैं सुरुतिर नै पार्टी एकता प्रक्रिया अगाडि बढाउँदै आगामी चुनावमा तालमेल गर्ने सहमतीमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगिसकेका थिए।

एमाले–माओवादी केन्द्रबीच मात्र होइन, वामपन्थी एकतामा नयाँशक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई समेत सामेल गर्ने सहमती अध्यक्ष दाहाल र नयाँशक्तिका संयोजक बाबुराम भट्टराईबीच फूलपाती (११ असोज) मा भयो।

ओला र प्रचण्ड

त्यस विषयमा थप कुराकानी गर्न भट्टराई यादवलाई साथमा लिएर दशैंको अष्टमी (१२ असोज) का दिन प्रचण्ड निवास लाजिम्पाट जाँदै थिए। तर, अष्टमीका दिन दिउँसो प्रचण्डले भट्टराईलाई फोन गरेर भने, ‘एमालेसँग एकता नहुने भयो। एमाले तयार भएछ भने पछि गरौँला। अहिलेलाई हामी तीन (माओवादी केन्द्र, नयाँशक्ति र फोरम) बीच तालमेल गरेर जाऊँ।’

अघिल्लो दिन प्रचण्डबाटै एमाले–माओवादी केन्द्र एकता प्रक्रिया अन्तिम टुंगोमा पुग्न लागेको जानकारी पाएका भट्टराईले अकस्मात के कारणले एकता भाँडिने मोडमा पुग्यो, बुझ्न सकेनन्।

खासमा एमाले–माओवादी केन्द्रबीच त्यतिन्जेलसम्म पदीय बाँडफाँटको विषयमा सहमति जुटिसकेको थिएन। उनीहरुबीच वाम ध्रुबीकरण गर्ने, समाजवादी क्रान्तिको आधार तयार पार्ने र कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थासहित संविधान संसोधन गर्ने विषयमा मात्र सहमति जुटेको थियो। यिनै तीन कुरामा मतैक्यता भएपछि उनीहरु एकताको निचोडमा पुगेका थिए।

एकता प्रक्रियामा सहभागी भएका एमाले उच्च स्रोतहरूका अनुसार ओलीलाई के लागेको थियो भने, ‘एमाले ठूलो पार्टी हो, त्यसैले एकतापछि अध्यक्ष म नै हुन्छु। अध्यक्षका नाताले चुनावपछि प्रधानमन्त्री पनि म नै भइहाल्छु।’

प्रचण्ड भने चुनावपछि ओली प्रधानमन्त्री हुने र आफूले पार्टी अध्यक्षको जिम्मेवारी पाउनेमा ढुक्क थिए। जब एकता प्रयास अन्तिम टुंगोमा पुग्यो, प्रचण्डले एमाले नेताद्वय वामदेव गौतम र विष्णु पौडेलसँग मुख खोले, ‘सबै कुरा त मिल्यो, तर जिम्मेवारीको बाँडफाँट चाहिँ कसरी गर्ने हो?’

गौतम र पौडेलले यस विषयमा ओलीसँग कुरा राखे। ओलीले गौतम र पौडेलमार्फत् नै प्रचण्डलाई सन्देश पठाए, ‘पहिलो कार्यकाल अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी म लिन्छु, अरु कुरा चाहिँ मिलाउँदै गरौंला।’

ओलीको यस्तो सन्देश पाएपछि प्रचण्ड हच्के। भट्टराईसँग प्रचण्डले अष्टमीका दिन एमालेसँग एकता हुने सम्भावना टर्यो भन्नुको भित्री कारण यही थियो। त्यसपछि प्रचण्डले पनि गौतम र पौडेलमार्फत् ओलीलाई जवाफी सन्देश पठाएर भने, ‘दुवै जिम्मेवारी आफैले लिने हो भने तालमेल र एकता गर्न अप्ठेरो हुन्छ।’

प्रचण्डको सन्देशले एकता प्रक्रिया भाँडिने सम्भावना बढेपछि एमालेका नेता गौतम र पौडेल ओलीलाई सम्झाउनतिर लागे। पहिलेपनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति पालना नगरेकैले एमाले–माओवादी केन्द्रबीचको सत्ता गठबन्धन टुट्न पुगेको स्मरणमात्र उनीहरुले ओलीलाई गराएनन् ।

अब पनि दुवै जिम्मेवारी ओलीले लिने हो भने सफलता पाउनै लागेको एकता प्रयास असफल हुने, त्यसपछि कांग्रेस–माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुने र बहुमत त्यही गठबन्धनले ल्याउने, त्यो स्थितिमा एमाले पाँच वर्ष सत्ता बाहिर बस्नुपर्ने स्थिति आउने विश्लेषण सुनाए।

एमाले स्रोतहरूका अनुसार ओली प्रचण्डलाई कुनै जिम्मेवारी दिन तयार थिएनन्। तर एकता लगत्तै प्रचण्डलाई जिम्मेवारी दिने विषयमा लचक नहुने हो भने ओली र एमालेका लागि आगामी दिनहरु कठिन हुने चेतावनी समेत गौतम र पौडेलले दिएपछि ओली चुनावपछि आफू प्रधानमन्त्री र पार्टी एकतापछि प्रचण्डलाई प्रधानमन्त्री दिने गरी चुनावी तालमेल र पार्टी एकता गर्न तयार भए।

त्यसपछि एमाले र माओवादी केन्द्रबीच जिम्मेवारी बाँडफाँटका सम्बन्धमा अर्को ‘भद्र सहमति’ भएको छ, त्यो भद्र सहमति ओली–प्रचण्डका अलावा एकता प्रक्रियामा खटिएका एमाले नेताद्वय वामदेव गौतम र विष्णु पौडेल, माओवादी नेता एवं गृहमन्त्री जनार्दन शर्माबीचमा मात्र सीमित राखिएको छ।

लाजिम्पाट स्रोतका अनुसार दशैंको अष्टमीका दिन भएको यो भद्र सहमति अनुसार निर्वाचनपछि बहुमत हासिल भएमा एमाले– माओवादी केन्द्रको तर्फबाट ओली प्रधानमन्त्रीका उम्मेदवार हुनेछन् भने एकतापछि प्रचण्डले पार्टीको अध्यक्षको जिम्मेवारी पाउनेछन्।

प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको भएकाले साँढे दुई वर्षभित्र कार्यकारी राष्ट्रपतिको प्रावधान हुने गरी संविधान संसोधनको प्रयास गर्ने, त्यो प्रयास सफल भएमा प्रचण्ड पहिलो कार्यकारी राष्ट्रपति हुने आन्तरिक सहमति दुई पक्षबीच भएको छ।

यदि कार्यकारी राष्ट्रपतिको प्रावधान सहित संविधान संसोधन प्रयास असफल भएमा चाहिँ ओलीले प्रचण्डलाई सत्ता हस्तान्तरण गर्नेछन्, प्रचण्ड बाँकी आधा अवधिका लागि प्रधानमन्त्री हुनेछन्। त्यससँगै प्रचण्डले ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नेछन्।

ओलीलाई प्रधानमन्त्री र प्रचण्डलाई पार्टी अध्यक्षको अलावा प्रतिनिधि सभाको आगामी निर्वाचनपछि राष्ट्रपति र उपराष्ट्रपति तथा सभामुख र उपसभामुखको जिम्मेवारी बाँडफाँट सम्बन्धी सहमति पनि दुई दलका शीर्ष नेतृत्वबीच भएको छ। जस अनुसार राष्ट्रपति एमालेबाटै हुनेछन् भने उपराष्ट्रपति माओवादी केन्द्रबाट। अनि सभामुख माओवादी केन्द्रले पाउनेछ भने उपसभामुख एमालेबाट हुनेछन्।

सम्भवतः यो स्थितिमा अहिलेकै राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले निरन्तरता पाउनेछन्। किनभने, उनीहरु क्रमशः एमाले र माओवादी केन्द्रबाटै राष्ट्रपति र उपराष्ट्रपति भएका हुन्। स्रोत : नेपाल खबरमा विवेक बरालले समाचार लेखेका छन् ।